पेरिसडाँडामै बसेर ‘बाबुराम सिध्याउने’ उद्‌घोष

२ जेठ, काठमाण्डौ । एकीकृत नेकपा माओवादीको केन्द्रीय कार्यालय रहेको पेरिसडाँडामै बसेर माओवादी मजदुरहरुले पार्टी उपाध्यक्ष डा. बाबुराम भट्टराईलाई सिध्याउने चेतावनी दिएका छन् ।
डा. भट्टराईले पार्टी कार्यालय पेरिसडाँडामा पत्रकारहरुसँग कुराकानी गरिरहेका बेला सालिकराम जमरकट्टेल पक्षका मजदुर जनक बर्तौलाले पार्टी कार्यालको छतमा आएर बाबुरामलाई ४-५ दिन सिध्याउनुपर्ने बताएका थिए । टेलिफोनमा कुरा गरिरहेका बर्तौलाले भनेका थिए-’ बाबुरामलाई अब ४-५ दिनमा सिध्याउनुपर्छ, त्यसका लागि तुरुन्त भ्यान लिएर पेरिसडाँडा आउनुपर्‍यो ।’
ह्यात रिजेन्सी होटलमा कार्यरत बर्तौला बक्सर र जमरकट्टेल पक्षीय होटल मजदुर संघका केन्द्रीय सदस्य हुन् । दुई दिनअघि मात्र बाबुराम र बैद्य पक्षका मजदुरलाई कुटपिट गरेको आरोपमा जमरकट्टेल पक्षका मजदुर कार्यकर्तालाई प्रहरी पक्राउ गरेपछि उनीहरुले बाबुरामलाई सिध्याउने भन्दै कार्यालयमै पुगेर चुनौती दिन थालेका छन् । पेरिसडाँडामा बिहान भेला भएका जमकट्टेलसहितका मजदुरले गृहमन्त्री कष्णबहादुर महराको निर्देशनमा कार्यकर्ता पक्राउ गरेको बिषयलाई कसरी प्रतिरोध गर्ने भन्ने योजना बनाउन ब्यस्त थिए ।
पेरिसडाँडामै भएको सो हर्कतबारे केन्द्रीय कार्यालयका कर्मचारीहरुले नयाँबजार निवास र जनसेनाका कमाण्डर पासाङलाई जानकारी गराएका छन् ।

Comments